
हरिवनमा बाली विज्ञान संकायका विद्यार्थीले अर्गानिक आलु फलाए
सन्जु कर्ण, सर्लाही
फाल्गुन १७ गते । सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको महादेव जनता माध्यमिक विद्यालयको बाली विज्ञान संकायका विद्यार्थीले अर्गानिक आलु फलाएका छन् ।
बाली विज्ञान पढ्दै गरेका कक्षा ९ देखि ११ सम्मका विद्यार्थीले आफ्नो पढाईको विषय अन्तर्गत नै किटनाशक विषादीको प्रयोग बिनै आलु उत्पादन गरेका हुन् ।
विद्यार्थीले त्यसरी फलाएको आलुमध्ये १५ किलो घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृह र १५ किलो नयाँरोडस्थित मानव सेवाश्रममा सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिएका छन् । अर्गानिक भएकाले केही आलु विद्यालयकै शिक्षकहरुले समेत किनेर लगेका छन् ।
बिक्री गरिएको आलुको पैसा विद्यार्थीकै नाममा जम्मा गरेर राखिने विद्यालयले जनाएको छ ।
हरिवनमा बाली विज्ञान पढ्ने विद्यार्थीहरुले यसरी समय(समयमा अध्ययन, अनुसन्धानकै क्रममा विभिन्न तरकारीहरु उत्पादन गर्दै आइरहेका छन् ।
