नेपाल विद्युत प्राधिकरणको लक्ष्य , ६ महिनामा २५ अर्बको बिजुली भारतलाई बेच्ने

आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ। मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहज रूपमा बिक्री भइरहेको छ। त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि निर्यात हुने जनाएको छ। भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ। सो माग परिपूर्तिका लागि सामान्य रूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो। त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ।
प्राधिकरणले आज छ हजार ८३१।६ मेगावाट घन्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ। भारतमा शेयर बजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ। त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ। यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म पाइने भएको छ।
भारतको ऊर्जा नियमक निकायले अधिकतम भारू १२ सम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ। प्राधिकरणले औसतमा भारू ६।९९ प्राप्त गरेको छ। मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ। त्यस आधारमा प्राधिकरणले कुल सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ।
प्राधिकरणले मनसुनका छ महिनामा मात्रै कुल २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ।

27 दिन पहिले    40 Post Views