पूर्व वडाध्यक्ष र सचिव पक्राउ पुर्जी जारी भएपछि फरार

दोहोरो नागरिकता बनाउनका लागि वडाबाट सिफारिश गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् ।
वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिश गरेको भन्दै जिल्ला अदालत धनुषाले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडासचिव माधव रायबिरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ । ठाकुरसँगै वडासचिव रायसमेत फरार भएका छन् ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई फेरी वडा नम्बर–८ बाट नागरिकताकै लागि सिफारिश गरेपछि ठाकुरबिरुद्ध मुद्दा परेको थियो ।
धनुषाको मुखियापट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनै मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिश गरिएको पाइएको छ ।
मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालयबाट अर्को नागरिकता प्राप्त गरेका हुन् । दूबै नागरिकतामा भने उनको जन्ममिति तथा स्थान फरक फरक देखाइएको छ । उनको पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ भने अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ ।
आनन्द अहिले कारागारमा छन् ।

1 महीना पहिले    82 Post Views