
डा. विजय सिंहलाई तमलोपाकाे गठबन्धनबारे छलफल गर्न जिम्मेवारी
मंसिर ४ मा हुने निर्वाचनमा सहभागी हुन तमलोपाले निर्णय गरेको छ । यस्तै पार्टीले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग सहकार्य तथा गठबन्धन गर्नका लागि छलफल गर्न वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई जिम्मेवारी दिएको छ । मंगलबार जनकपुरधामस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अध्यक्ष वृशेषचन्द्र लालको अध्यक्षतामा बसेको बैठकले संसदीय लोकतन्त्रको मान्यतालाई सत्तारुढ दलले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रहिरहनु हास्यास्पद भएको केन्द्रिय सदस्य उमेश मण्डलले बताए ।बैठकले नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपनि प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ भएकोप्रति तमलोपाले ध्यानाकर्षण भएको जनाएको छ । तमलोपाले सो विधेयक तत्काल प्रमाणीकरण गर्न माग गरेको छ ।
