गुठीले नै रामरोशनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको दाबी

 नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासविरुद्ध गत साउन ४ गते जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो ।सहायक महन्थ दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै जनकपुरधाम–२३ बस्ने वैजनाथ चौधरीले उजुरी दिएका थिए ।उजुरीमा रामरोशनले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको र जानकी मन्दिर र लक्ष्मण मन्दिरको आम्दानीको हिनामिना गरेको आरोप लगाइएको थियो ।चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए । उनले सो विषयमा अनुसन्धान जारी नै रहेको र अनुसन्धान बिना केही बोल्न सक्ने स्थिति नरहेको बताए ।यता, गुठी संस्थानका अनुसार जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन नै हुन् । संस्थानका प्रमुख बैकुण्ठ रेग्मीका अनुसार संस्थानले नै उनलाई मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको हो ।उनले भने, ‘रामरोशनले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७७ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको थियो ।’‘मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्थलाई मात्रै हुन्छ, रेग्मीले भने, ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन ।

2 महीना पहिले    56 Post Views