राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन

राजतन्त्र पुनःस्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले धर्ना दिएको छ ।

शनिबार उक्त संगठनले नारायणहिटी दरबार संग्रहालय अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।

उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए । धर्नामा सहभागी सो संगठनका कार्यकर्ताहरूले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिएका थिए । उनीहरुले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताएका थिए ।

ज्ञानेन्द्र शाहलाई श्रीपेच नलगाए सार्वभौमिकता र धर्म सकिने बताउँदै उनीहरुले अहिले विदेशीको ईसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति समेत जनाए ।

15 दिन पहिले    40 Post Views